संसदीय १० समितिमा निर्विरोध सभापति चयन, २ समितिमा निर्वाचन हुने


काठमाडौं — प्रतिनिधि सभाअन्तर्गतका विषयगत तथा संयुक्त गरी १० वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् भने दुई वटा समितिमा भने निर्वाचन हुने भएको छ।

सभापतिका लागि बिहीबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा १० समितिमा एकल उम्मेदवारी परेको र दुई समितिमा दुई–दुई जनाको उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिएका छन्।

निर्विरोध निर्वाचित हुनेमध्ये अधिकांश सभापति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेका छन्। अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी तथा कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा निर्वाचित भएका छन्।

त्यस्तै, संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्था, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्।

सार्वजनिक लेखा समितिको सभापतिमा भने नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध चयन भएका छन्।

यता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाकी ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यसैगरी, संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति’ को सभापतिका लागि रास्वपाका गणेश कार्की र नेकपाकी मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार सम्बन्धित समितिको बैठकमा सभापतिको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरिनेछ। एकल उम्मेदवारी परेका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ भने प्रतिस्पर्धा भएका समितिमा मतदानमार्फत निर्णय गरिनेछ।

– रिपोर्टर: सुर्य राय / आमा दर्शन न्युज

प्रतिक्रिया