काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा सुधार गर्दै राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छपाइ सुरु गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणका क्रममा यस्तो व्यवस्था आजदेखि लागू गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार अब ट्रायल पास गरी राजस्व तिरेका सेवाग्राहीले २४ घण्टाभित्रै लाइसेन्स प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। यसले लामो समयदेखि लाइसेन्स नपाउने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
मन्त्री तिमिल्सिनाले सरकारले सेवा प्रवाहलाई छिटो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गरे। उनले बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्यसमेत सार्वजनिक गरे।
‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्,’ उनले भने, ‘लामो समयदेखि देखिएको लाइसेन्स अभावको समस्या अन्त्य हुने चरणमा पुगेको छ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क