अभिनेता अल्लु अर्जुन रिहा, पुष्पा–२ प्रिमियरको घटनापछि विवादमा

काठमाडौं – दक्षिण भारतीय चर्चित अभिनेता अल्लु अर्जुन शनिबार बिहान ७ बजे चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका छन्। उनी पुष्पा–२ का मुख्य अभिनेतासमेत हुन्। करिब १८ घण्टा हिरासतमा रहेका उनलाई लिन उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी जेल पुगेका थिए।


पक्राउको कारण


शुक्रबार मध्याह्न १२:१५ बजे अल्लु अर्जुनलाई हैदराबादमा भएको पुष्पा–२ प्रिमियरका क्रममा सन्ध्या थिएटरमा बिनाजानकारी उपस्थित भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनको उपस्थितिका कारण भीड बढ्दा भागदौड मच्चिएको र त्यसक्रममा एक महिलाको ज्यान गएको बताइएको छ। यसलाई हल प्रशासनले सुरक्षा मापदण्ड उल्लङ्घन भएको मानेको छ।


कानुनी प्रक्रिया

•पक्राउपछि उनलाई शुक्रबार अपराह्न ४ बजे स्थानीय अदालतमा पेश गरिएको थियो।

•अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।

•उनले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतका लागि अपिल गरेका थिए।

•साँझ ५ बजे अदालतले ५० हजार भारुको धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



शुक्रबार राति नै रिहा हुने अपेक्षा गरिए पनि अदालतको आदेशको प्रतिलिपि समयमै उपलब्ध नभएकाले जेल प्रशासनले उनलाई शनिबार बिहान मात्रै रिहा गरेको हो।


घटनाको प्रभाव


पुष्पा–२ जस्तो बहुप्रतीक्षित चलचित्रका मुख्य कलाकारमाथिको यो घटना भारतीय चलचित्र उद्योगमा ठूलो चासोको विषय बनेको छ। उनका प्रशंसकले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै उनको पक्षमा समर्थन जनाएका छन्।


- अामा दर्शन न्यूज

प्रतिक्रिया