पोखरामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै साढे दुई वर्षपछि एक जना संक्रमितको मृत्यु भएको छ। ७० वर्षीया एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारको क्रममा साउन ४ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।
महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या समेत रहेको र असार २५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएपछि गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था दिनानुदिन जटिल हुँदै जाँदा अन्ततः साउन ४ गते मृत्यु भएको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए।
महानिर्देशक खड्काका अनुसार, हाल प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र धौलागिरी अस्पताल बागलुङलगायतका प्रयोगशालामा कोरोनाको परीक्षण भइरहेका छन्। सामान्य ज्वरो वा रुघाखोकी भएका बिरामीमा समेत कोरोनाको संक्रमण भेटिन थालेको बताइएको छ।
पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमणको संख्या पुनः वृद्धि हुँदै गएको छ। पछिल्लो विवरण अनुसार, कास्कीमा ५, बागलुङमा २ र स्याङ्जामा १ जनामा संक्रमण देखिएको छ। कुल संक्रमितको संख्या ८ पुगेको निर्देशनालयले जनाएको छ।
स्वास्थ्य विज्ञहरूले कोभिडको जोखिम अझै टरेको छैन भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
– आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता