गाँजालाई औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न मुख्यमन्त्री बानियाँको प्रस्ताव

काठमाडौं— सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले गाँजाको औषधीय प्रयोगलाई कानुनी मान्यता दिनुपर्ने प्रस्ताव राखेका छन्।

छलफलका क्रममा उनले संघीय सरकारले नै स्पष्ट कानुनी व्यवस्था गरेर गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने बाटो खोल्नुपर्ने धारणा व्यक्त गरे।

‘गाँजामा औषधीय गुणहरू छन्। सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग भइरहेको छ भने यसलाई व्यवस्थित कानुनी ढाँचामार्फत अघि बढाउन सकिन्छ,’ प्रधानमन्त्रीलाई दिएको सुझाव उद्धृत गर्दै उनले भने, ‘सुरुआतमा पकेट क्षेत्रका रूपमा मकवानपुरलगायत केही जिल्लाबाट परीक्षणका रूपमा सुरु गर्न सकिन्छ।’

उनका अनुसार, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै कडा नियमन र अनुगमनको व्यवस्था गरेपछि मात्र यसको प्रयोगलाई अनुमति दिनुपर्छ।

सरकारभित्र गाँजाको औषधीय प्रयोगबारे बहस भइरहेका बेला बानियाँको यो प्रस्तावलाई नीति निर्माणको सम्भावित एजेन्डाका रूपमा हेरिएको छ।


रिपोर्टर: सुर्या राया / आम दर्शन न्युज

प्रतिक्रिया