काठमाडौंमा प्रधानमन्त्रीसँग कूटनीतिक नियोग प्रमुखहरूको संयुक्त शिष्टाचार भेट




आमा दर्शन न्यूज


काठमाडौं, — नेपालमा आवासीय विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री आर.टी. माननीय बलेंद्र शाहसँग संयुक्त शिष्टाचार भेट गरेका छन्।


उक्त भेटमा भारत, पाकिस्तान, गणतन्त्र कोरिया, बेलायत, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।


भेटका क्रममा कूटनीतिक नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई पदभार ग्रहणको बधाई दिँदै आफ्ना-आफ्ना राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूका शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए। साथै, उनीहरूले नेपाल सरकारलाई जनहितमा परिणाममुखी काम गर्न सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रधानमन्त्री शाहले नेपालले अवलम्बन गर्दै आएको सन्तुलित तथा व्यवहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्‍याउँदै छिमेकी राष्ट्र, मित्र देश तथा विकास साझेदारहरूसँग विश्वास, आपसी सम्मान र साझा समृद्धिको आधारमा सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। उनले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।


शान्ति सबैको साझा प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदार तथा डायस्पोराको सुरक्षा, हित र कल्याणमा सरकार गम्भीर रहेको स्पष्ट पारे।


त्यसैगरी, उनले सुशासन प्रवर्द्धन, आर्थिक विकास हासिल गर्ने तथा नेपाली जनताको जीवनस्तर सुधार गर्ने सरकारको दृढ प्रतिबद्धता पनि व्यक्त गरे।


उक्त अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्य सचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत अन्य सरकारी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।


रिपोर्टर: सूर्य राय

आमा दर्शन न्यूज मिडिया



प्रतिक्रिया