कांग्रेसमा भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्र मन्त्री राणा

परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पार्टीभित्र बढेको टिप्पणी गरेकी छन्।

कांग्रेस जिल्ला कार्यसमिति इलामले सोमबार श्रीअन्तुमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन्।

‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरूद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो,’ उनले भनिन्।

नेताहरूको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरूमा निराशा पैदा गर्ने उनको भनाइ छ।

कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरूले गर्ने गरेको उनले बताइन्।

‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ। अरू पार्टीहरू ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ,’ उनले भनिन्।       उनले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्नुपर्ने बताइन्।

आफ्ना गुनासा र असन्तुष्टि यसरी भाषण गर्दै हिँड्ने विषय नभएको उनको भनाइ छ।

प्रतिक्रिया