काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। भूकम्पका कारण ३०० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।
चीन भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) तथा स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरअन्तर्गत बाकेन काउन्टीलाई केन्द्रविन्दु बनाएर बिहीबार राति १० बजेर ३३ मिनेटमा ७.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
भूकम्पमा परी घाइते भएका ३२ जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन्। शक्तिशाली धक्काका कारण प्रभावित क्षेत्रमा टेलिफोन, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।
भूकम्पलगत्तै चीन सरकारले दोस्रो तहको आपत्कालीन उद्धार कार्यविधि लागू गर्दै प्रभावित क्षेत्रमा व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गरेको छ। उद्धार कार्यका लागि ३०० भन्दा बढी सुरक्षाकर्मी तथा अग्नि नियन्त्रण र उद्धार टोलीका ३४७ जना जनशक्ति परिचालन गरिएको छ।
यसैबीच, भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने र उद्धार कार्यलाई तीव्रता दिने काम भइरहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
भूकम्पबाट प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता