अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा गैर–बैंकिङ कारोबारको संकेत
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वयं गैर–बैंकिङ कारोबारमा संलग्न रहेको देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यस्तो तथ्य खुलेको हो।
सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेले विभिन्न बैंक खातामा गरी कुल १ करोड ९० लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन्। नगदसँगै उनले ३ करोड ५५ लाख रुपैयाँ ऋणसमेत रहेको जनाएका छन्।
उक्त ऋणमध्ये १ करोड ५ लाख रुपैयाँ Global IME Bank बाट लिएको र बाँकी २ करोड ५० लाख रुपैयाँ व्यक्तिगत सापटी लिएको विवरणमा उल्लेख छ, जुन गैर–बैंकिङ कारोबार अन्तर्गत पर्ने देखिन्छ।
अर्थमन्त्री वाग्लेले उक्त व्यक्तिगत सापटी २०८४ सालसम्म हाइड्रोपावरका शेयर तथा सम्पत्ति बिक्री गरेर तिर्ने भाखामा लिएको उल्लेख गरेका छन्। प्राप्त जानकारीअनुसार कुल ऋणमध्ये करिब २ करोड रुपैयाँ तनहुँमा जग्गा खरिदका लागि प्रयोग गरिएको बुझिएको छ।
यद्यपि, जुन प्रयोजनका लागि ऋण लिइएको भए पनि २ करोड ५० लाख रुपैयाँ व्यक्तिगत सापटीलाई गैर–बैंकिङ कारोबारको रूपमा लिन सकिने देखिन्छ।
अनौपचारिक अर्थतन्त्र नियन्त्रणको प्रयासविपरीत गतिविधि
नेपालमा अझै पनि ठूलो हिस्सा अर्थतन्त्रको अनौपचारिक च्यानलमै रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। Ernst & Young (EY) को सन् २०२५ को प्रतिवेदनअनुसार नेपालको करिब ५१ प्रतिशत अर्थतन्त्र अनौपचारिक क्षेत्रमा रहेको छ।
त्यस्तै Tribhuvan University अन्तर्गतको अर्थशास्त्र विभागले पनि ४२–४३ प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको उल्लेख गरेको छ। यसको अर्थ, ठूलो आर्थिक कारोबार अझै बैंकिङ च्यानलबाहिर हुने गरेको देखिन्छ।
यस अवस्थालाई सुधार गर्न Nepal Rastra Bank ले ५ लाख रुपैयाँभन्दा माथिको नगद कारोबार अनिवार्य रूपमा चेकमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
तर, अर्थमन्त्री स्वयंले करोडौँ रुपैयाँको लेनदेन व्यक्तिगत रूपमा गरेको देखिँदा प्रश्न उठेको छ—उनी किन बैंकिङ च्यानल बाहिरको माध्यम रोजे?
राष्ट्र बैंकको प्रतिक्रिया
Nepal Rastra Bank का एक अधिकृतका अनुसार व्यक्तिगत ऋण वा सापटीलाई सिधै अनौपचारिक कारोबार भन्न नमिल्ने बताइएको छ।
उनका अनुसार, “व्यक्तिगत ऋण बैंकमार्फत भएको हो कि होइन भन्ने विषय महत्वपूर्ण हुन्छ। अर्थमन्त्रीले व्यक्तिसँग ऋण लिएको उल्लेख गरे पनि त्यो बैंकिङ प्रणालीमार्फत भएको हो वा होइन भन्ने खुलाइएको छैन। त्यसैले यसलाई तुरुन्तै अनौपचारिक भन्न सकिँदैन, तर यो अनुसन्धानको विषय भने अवश्य हो।”
अन्य सम्पत्ति विवरण
सार्वजनिक गरिएको विवरणअनुसार अर्थमन्त्री वाग्लेसँग ४५ तोला सुन रहेको छ भने ललितपुर र काभ्रेमा दुईवटा अपार्टमेन्टसमेत रहेको उल्लेख गरिएको छ। साथै तनहुँमा जग्गा खरिद गरिएको विवरण पनि सार्वजनिक गरिएको छ।
— रिपोर्ट: सुर्य राया / आमा दर्शन न्युज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता